March 2021 - कालीको सुसेली

नयाँ सामग्री

Post Top Ad

Saturday, March 27, 2021

स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न (फोटो फिचर)

March 27, 2021 0



राजेन्द्र पहाडी,

कुश्मा, पर्वत । जिल्लाकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले आफू अन्तरगत रहेका विभिन्न विधाका ७ वटा पुरस्कार स्रष्टाहरुलाई समर्पण गरेको छ।

शनिवार कुश्मामा एक औपचारिक कार्यक्रमको आयोजना गरी धौलागिरी क्षेत्रभित्र जन्मेर नेपाली भाषा, साहित्य, कला, संस्कृती तथा खोज अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउने ७ जना सर्जकहरुलाई उक्त पुरस्कार वितरण गरेको हो।

पर्वत साहित्य संगम स्था अन्तरगत स्थापना गरिएका पर्वत साहित्य संगम साहित्य पुरस्कार, मान पदम स्मृती साहित्य पुरस्कार, डिल्ली राधा साहित्य पुरस्कार, नमुना शिक्षा तथा साहित्य पुरस्कार, गोपीनन्द स्मृती साहित्य पुरस्कार, संस्कृती साहित्य पुरस्कार र कृष्णा उद्योग साहित्य पुरस्कार आज लेखक तथा साहित्यकारहरुलाई समर्पण गरिएको हो ।

यसवर्षको पर्वत साहित्य संगम साहित्य पुरस्कार पर्वतका अग्रज साहित्यकार इन्द्रकुमार विकल्पलाई नगद रु १५ हजार, दोसल्ला र सम्मान पत्र, नमुना शिक्षा तथा साहित्य पुरस्कार पर्वत स्थायी घरभई हाल पीएन क्याम्पस पोखरा नेपाली विभागका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेलाई नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र, डिल्लीराधा साहित्य पुरस्कार तथा सम्मान पर्वत स्थायी ठेगाना भई हाल सरस्वती क्याम्पस काठमाण्डौंमा प्राध्यापनरत सहप्राध्यापक डा. षडानन्द पौड्याललाई नगद रु १० हजारसहित दोसल्ला र सम्मान पत्र, मान पदम स्मृती साहित्य पुरस्कार तथा सम्मान मदन पुरस्कार प्राप्त गरेका म्याग्दी निवासी साहित्यकार चन्द्रप्रकाश वानियाँलाई नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र, गोपिनन्द स्मृती साहित्य पुरस्कार मुस्ताङका इन्द्रबहादुर तुलाचनलाई नगद रु १० हजार, दोसल्ला र प्रमाणपत्र, कृष्णा उद्योग साहित्य पुरस्कार तथा सम्मान बागलुङ सा िनिवासी साहित्यकार सन्तकुमारी श्रेष्ठलाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र र संस्कृती साहित्य पुरस्कार तथा सम्मान पर्वतका अग्रणी साहित्यकार लक्ष्मीराज शर्मा पौडेललाई नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको पर्वत साहित्य संगमका सचिव खेमराज शर्मा चपागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले साहित्य समाजको दर्पण भएको भन्दै साहित्यिक सिर्जना मानव जगतका लागि हुनुपर्ने बताए । नेपाली भाषा, कला र संस्कृतिको विकासमा साहित्यले अहम भूमिका खेलिरहेको बताउँदै उपाध्यायले साहित्यलाई कसैले पनि हेयको दृष्टीले हेर्न नहुने कुरामा जोड दिए । साहित्य सिर्जना आँफैमा एउटा विज्ञान भएको भन्दै साहित्यले देश, काल, परिस्थितिलाई डोर्याउन सक्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा सभाध्यक्ष तथा पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्य सिर्जना सचेत नागरिकहरुको जिम्मेवार अभिव्यक्ति हुने भन्दै सर्जकहरु प्रतिकुलमा अनुकुल ,असहजमा सहज खोज्न सक्ने र यथार्थतालाई छर्लङ्ग हुने सिर्जना गर्नसक्ने हुनुपर्ने बताए। पहाडीले कुनै पनि पुरस्कार सानो नहुने भन्दै पुरस्कृत साहित्यकारहरुलाई थप उर्जा प्रदान हुन हौसला मिलोस भन्ने कामना व्यक्त गरे । कार्यक्रममा पुरस्कृत सर्जकहरुले साहित्य संगमले पुरस्कार प्रदान गरेर आँफुहरुमा थप साहित्यप्रतिको जिम्मेवारी प्रदान गरेकोले सदैव नेपाली भाषा र साहित्यको उनन्वयनमा अग्रसर भइरहने बताए ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरु क्रमशः प्रा.डा. कुशुमाकर न्यौपाने, सहप्राध्यापक डा. षडानन्द पौडेल, चन्द्रप्रकाश बानिया, लक्ष्मीराज शर्मा पौडेल, इन्द्रकुमार विकल्प र सन्तु श्रेष्ठले आफ्नो सारगर्भित मन्तव्य राखेका थिए ।
यस्तै शान्तिनारायण श्रेष्ठ, काजी रोशन, भक्त कार्की, सरस्वती शर्मा जिज्ञाशु, सामना पहाड लगायतले पुरस्कृत स्रष्टाहरुलाई शुभकामना तथा बधाई दिनुका साथै आफ्ना साहित्यिक सिर्जना सुनाएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा साहित्यकार तथा पत्रकार निर्मल पौडेल एन.पी घायल, दीपसागर पौडेल, प्रेम मगर, गिता अधिकारी, गणनाथ पौडेललगायतले रचनावाचन गरेका थिए । कार्यक्रम पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायाको प्रमुख आथित्यता, संगमका उपाध्यक्ष डि. आर. शर्माको स्वागत मन्तव्य र संगमका सचिव खेमराज शर्मा चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो। साहित्यको विकासमा अग्रणी भुमिका निर्वाह गरिरहेको पर्वत साहित्य संगमले विभिन्न साहित्यिक कृतिहरुको प्रकाशन गर्नुका साथै स्थापनाकाल देखिनै विभिन्न सर्जक तथा कृतिहरुलाई पुरस्कृत गर्दै आएको छ।

पर्वत साहित्य संगमका उपाध्यक्ष डिआर शर्माले दिनुभएको जानकारीअनुसार पर्वत साहित्य संगमले रु. ७५ हजारको अक्षयकोष खडा गरी पर्वत साहित्य संगम साहित्यिक पुरस्कार, डिआर शर्माले रु. ६० हजारको अक्षयकोष राखी डिल्ली राधा साहित्य पुरस्कार, इन्द्रमान खत्रीले रु ६० हजारको अक्षयकोष स्थापना गरी मान पदम स्मृती साहित्य पुरस्कार, नमुना आवासीय माविले रु ५० हजारको अक्षयकोष राखी नमुना शिक्षा तथा साहित्य पुरस्कार, इन्द्रकुमार विकल्पले रु ५० हजारको अक्षय कोष स्थापना गरी गोपी नन्द स्मृति साहित्य पुरस्कार, सुशीलबाबु थकाली अनुरागीले रु ५० हजारको अक्षयकोष खडा गरी संस्कृति साहित्य पुरस्कार र कृष्णादेवी शर्मा श्रेष्ठले रु ५० हजार राशीको अक्षयकोष स्थापना गरी कृष्णा उद्योग साहित्य पुरस्कारको स्थापना गरेका हुन् । यि सबै पुरस्कारहरु हालसम्म दुई दुई वर्षको अन्तरालमा प्रदान गरिँदै आएको छ ।















पूरा पढ्नुहोस्>>>>

Monday, March 8, 2021

पर्वत साहित्य सङ्‍गमद्वारा विभिन्न पुरस्कार घोषणा

March 08, 2021 0

राजेन्द्र पहाडी,

पर्वत । धौलागिरि क्षेत्रको साहित्यिक अग्रणी संस्था पर्वत साहित्य संगमले आफ्नो संस्थाबाट स्थापित तथा संचालित विभिन्न साहित्यिक पुरस्कारहरुको घोषणा गरेको छ । पर्बत साहित्य संगमको मिति २०७७ फाल्गुन २० गते कार्यसमितिका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार छनौट समितिले गरेको प्रस्ताबलाई अनुमोदन गरेको हो ।



संगमले धौलागिरी क्षेत्रका साहित्यक व्यक्तित्वहरुलाइ हरेक दुई बर्षमा वितरण गर्दै आएका विभिन्न ७ पुरस्कारको वितरणका लागि साहित्यकार तथा पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीको संयोजकत्वमा सह–प्राध्यापक लक्ष्मी प्रसाद शर्मा र साहित्यकार डी आर शर्मा सदस्य रहेको कृति, विधा तथा योगदान मूल्यांकन तथा छनौट समिति गठन गरेको थियो ।
पर्वत साहित्य संगमबाट वर्ष २०७७ का लागि सर्जकहरु श्री इन्द्रकुमार विकल्पलाई पर्वत साहित्य संगम पुरस्कार , प्राध्यापक डा. श्री कुसुमाकर न्यौपानेलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, सहप्राध्यापक डा. श्री षडानन्द पौड्याललाई डिल्ली राधा साहित्य पुरस्कार, लेखक तथा साहित्यकार श्री चन्द्र प्रकाश बानियालाई मान पदम स्मृति साहित्य पुरस्कार, साहित्यकार श्री लक्ष्मीराज शर्मालाई संस्कृति साहित्य पुरस्कार, समाजसेवी तथा साहित्यकार श्री इन्द्र बहादुर तुलाचनलाई गोपिनन्द स्मृति साहित्य पुरस्कार र साहित्यकार सन्तु श्रेष्ठलाई कृष्णा उद्योग साहित्य पुरस्कार समर्पण गरिने निर्णय भएको पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले बताउनुभयो ।
घोषणा गरिएका पुरस्कारहरु आगामी २०७७ चैत्र १४ गते कुश्मामा आयोजना हुने एक भब्य साहित्यिक समारोहमा प्रदान गरिने जानकारी पर्वत साहित्य संगमका सचिव खेमराज शर्मा चापागाईले दिनु भयो । उहाँले दिनुभएको जानकारी अनुसार पर्वत साहित्य संगम पुरस्कारको राशी रु.१५ हजार र नमुना शिक्षा तथा साहित्य पुरस्कार, राधा साहित्य पुरस्कार, पदम स्मृति साहित्य पुरस्कार, संस्कृति साहित्य पुरस्कार तथा स्मृति साहित्य पुरस्कारको राशी हरेकको रु. १० हजार रहेको छ । कार्यक्रम समर्पण समारोहमा पुरस्कृत व्यक्तित्वहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र पनि प्रदान गरिने कार्यक्रम रहेको छ । स्मरणीय रहोस् पर्वत साहित्य संगमले यस अघि दुई पटक माथि उल्लिखित पुरस्कारहरु प्रदान गरिसकेको छ ।
पूरा पढ्नुहोस्>>>>

Post Top Ad