लघुकथा विशेषाङ्कको सम्पादकीय___ - कालीको सुसेली

नयाँ सामग्री

Post Top Ad

Saturday, April 26, 2025

लघुकथा विशेषाङ्कको सम्पादकीय___

 सम्पादकीय_________________________

पत्रिका जन्माउनुभन्दा त्यसलाई गुणस्तर कायम राख्दै निरन्तरता दिनु ठूलो कुरा हो । नेपाली पत्रकारिताको जग बसाएको साहित्यिक पत्रकारिता वर्तमान अवस्थामा अन्य ‘बिट’का पत्रकारिताजस्तो व्यावसायिक बन्न सकेको छैन तर साहित्यिक पत्रिकाको लोभलाग्दो प्रकाशन र निरन्तरता भने जारी नै छ । यसका लागि साहित्यकर्मीहरूको त्याग र समर्पणले भूमिका खेलेका छन् । अझै भन्ने हो भने राजधानीबाहिरबाट टिकाउ साहित्यिक पत्रकारिता गर्नका लागि झेल्नुपर्ने अड्चनहरूको फेहरिस्त लामै बन्न सक्छ । यी सब कुरालाई तपसिलमा राखेर साहित्यिक सुसेली बजाइरहेको साहित्यिक पत्रिकाका रुपमा आदरणीय पाठकले कालीको सुसेलीलाई दिनुभएको माया, सद्भाव र रचनात्मक सहयोगप्रति पुनः एक पटक हार्दिक आभार व्यक्त गर्दछौँ ।

कालीको सुसेली एउटा साहित्यिक पत्रिका त हो नै, सँगै एउटा साहित्यिक अभियान पनि हो । नवप्रतिभाको उजागर र अग्रजप्रतिको सम्मानका लागि कटिबद्ध कालीको सुसेलीले नेपाली साहित्यको विधागत उन्नयनका लागि पनि प्रयास गरिरहेको छ । यसका लागि विधागत विशेषाङ्क प्रकाशन गर्दै आएको कुरा विज्ञ पाठकलाई अवगत नै छ । यस पटक हामी लघुकथा विशेषाङ्क लिएर आएका छौँ । नियमित प्रकाशनसँगै हाम्रो विशेषाङ्क प्रकाशनको क्रम पनि जारी नै रहने छ । सबै अङ्कलाई उत्तिकै आत्मीय साथ प्राप्त हुने अपेक्षा हामीले गरेका छौँ ।

विश्वसाहित्यमै स्थापित भइसकेको लघुकथा नेपाली साहित्यमा अझै पनि अपेक्षित परिचित हुन नसकेका अनुभव यस विशेषाङ्क प्रकाशनका दौरानमा हासिल भएको छ । आख्यानको एक लघु प्रशाखाका रुपमा रहेको लघुकथा र कथाको भेद छुट्याउनैपर्ने अवस्था सिर्जना भएको छ । यसका लागि विभिन्न संस्था तथा लघुकथाकारहरूको हरदम प्रयत्न प्रशंसनीय छ । यसमा सानै भए पनि एउटा ईंट्टा थप्ने प्रयत्न मात्रै कालीको सुसेलीले गरेको छ । यस विशेषाङ्कमा समाविष्ट सामग्रीले केही मात्रामा भए पनि नेपाली लघुकथाको सैद्धान्तिक र व्यावहारिक पाटोलाई उजागर गर्ने तथा केही बहसका दैलाहरू खोल्ने विश्वास हामीले लिएका छौँ । 

लघुकथा विशेषाङ्कका लागि ‘लघुकथा’को माग गरिएको लामो समय भइसकेको छ, कतिपयले त यसका लागि लघुकथा पठाइएकोसमेत बिर्सिसक्नुभएको हुन सक्छ । लघुकथाका नाममा आएका कथा वा उपन्यास अंशले पनि यसमा केही भूमिका खेलेका छन् र सबैभन्दा बढी त हाम्रै व्यस्तता र केही मात्रामा विश्वव्यापी समस्याका रुपमा आएको कोरोना भाइरसले पनि भूमिका खेलेको छ । यसबाट आदरणीय लघुकथाकार तथा विज्ञ पाठकप्रति पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।

अन्त्यमा, यस अङ्कका लागि मूल लेख उपलब्ध गराइदिने मिलन समीर र असफल गौतम, अन्तरवार्ता दिनुहुने डा. पुष्करराज भट्ट, श्रीओम श्रेष्ठ ‘रोदन’ र विष्णु अल्पविराम, सम्पूर्ण लघुकथाकारज्यूहरू, विशेषाङ्क सम्पादनको जिम्मेवारी प्रदान गर्नुहुने सम्पादक इन्द्रकुमार विकल्प र प्रकाशक पर्वत साहित्य सङ्गमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।  


रुपिन्द्र प्रभावी

सम्पादक, लघुकथा विशेषाङ्क 


No comments:

Post a Comment

Post Top Ad